
पृथ्वीबाट सन् १९४८ यताकै सबैभन्दा नजिकको विन्दुमा सोमबार चन्द्रमा आइपुग्न लाग्दा संसारभरका खगोलप्रेमीहरु उत्साहित देखिएका छन्।
ब्रिटेनमा सबैभन्दा ठूलो चन्द्रमा हेर्ने अवसर सोमबार साँझ प्राप्त हुने जनाइएको छ।
जिएमटी समय ११ बजेर २१ मिनेट जाँदा चन्द्रमा पृथ्वीबाट ३ लाख ५६ हजार ५०९ किलोमिटर टाढा रहने बताइएको छ।
अवलोकनकर्ताहरुले साधारण अवस्था भन्दा उक्त समयमा चन्द्रमा ७ गुणा ठूलो देख्नसक्ने र मानिसको आँखाले भेउ पाउन नसक्ने भए पनि त्यस समयमा चन्द्रमा १५ प्रतिशत चम्किलो हुनेछ।
अवसर

पृथ्वीबाट अब चन्द्रमा सोमबार जतिको नजिकैबाट सन् २०३४ को नोभेम्बर २५ तारिखमा मात्रै देखिने जनाइएको छ।
ब्रिटेनको मौसम विभागले सबैभन्दा ठूलो चन्द्रमा देखिने समयमा बादल लाग्न सक्ने भविष्यवाणी गरेको छ र मानिसहरुलाई स्थानीय मौसम पूर्वानुमानमा ध्यान दिन सुझाव दिएको छ।
पृथ्वीको कक्षमा परिक्रमा गर्ने क्रममा पर्ने सूर्यको किरण अनुसार धर्तीबाट चन्द्रमाको आकार फरक फरक देखिन्छ।
प्रत्येक २७ दिन वा त्यसआसपासमा पृथ्वीको परिक्रमा गर्ने क्रममा चन्द्रमाले अण्डाकार कक्षमा फन्को लगाउने गर्छ।
यसको अर्थ पृथ्वीबाट चन्द्रमासँगको दुरी सधैँ एकनासको रहँदैन र पूर्ण कक्षमा पुरा फन्को लगाउने क्रममा बदलिरहन्छ।
तर पृथ्वीले पनि सूर्यको निरन्तर परिक्रमा गरिरहने भएकाले चन्द्रमाको उक्त कक्षसँगको दुरी घटबढ भइरहेको हुन्छ।
यसको अर्थ पृथ्वीबाट चन्द्रमा सबैभन्दा नजिक देखिने क्षण र पूर्ण आकारको चन्द्रमा देखिने अवस्था एउटै हुँदैन।
सुपरमुन

तर पूर्णिमाको दिनमा पृथ्वीबाट चन्द्रमा सबैभन्दा नजिक देखिने अवस्था पनि पर्न गएमा यो बेला देखिने ठूलो चन्द्रमालाई ‘सुपरमुन’ भन्ने गरिएको छ।
साधारणतया पृथ्वीको कक्षको सबैभन्दा टाढाको बिन्दुसँग तुलना गर्दा सबैभन्दा नजिकको बिन्दुमा आइपुग्दा चन्द्रमा १४ प्रतिशत ठूलो र ३० प्रतिशतसम्म चम्किलो देखिन्छ।
न्युयोर्कमा रहेको हेडेन प्लानेटरियमका निर्देशक निल डे ग्रासी टाइसन भन्छन्, चन्द्रमा सबैभन्दा नजिक आउने समयलाई ‘सुपर मुन’ भनेर चाहिने भन्दा बढ्ता चर्चा दिइएको छ।
उनी तर्क गर्छन्, “मलाई थाहा छैन, यदी तपाईँले १६ इन्चको पिज्जा खानुभयो भने त्यसलाई १५ इन्चको पिज्जासँग तुलना गरेर के त्यो सुपर पिज्जा थियो भन्नुहुन्छ?”